नेपालको पराजयसँगै ग्राहम रोवर्टसले गरे राजीनामा

13/03/2012 12:34

 

२९ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका बेलायती प्रशिक्षक ग्राहम रोवर्टसले राजीनामा दिएका छन् ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल तुर्कमिनिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । खेलको सातौं मिनेटमा टागाएभको गोलबाट अग्रता लिएको तुर्कमिनिस्तानका लागि खेलको ७९ औं मिनेटमा चोङकाएभले गोल गरे । यस्तै ८९ औं मिनेटमा गोल गर्दै हृयाङ्गेलदिएभले तुर्कमिनिस्तानलाई ३-० को जित दिलाए ।
 
पहिलो खेलमा प्यालेस्टाइनसँग २-० गोलले पराजित नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग १-० ले हार व्यहोरेको थियो । प्रतियोगितामा नेपालले एक गोल पनि गर्न सकेन ।
 
जितसँगै तुर्कमिनिस्तान ७ अंकसहित समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ३-१ गोलले पराजित गरेको तुर्कमिनिस्तानले दोस्रो खेलमा प्यालेष्टाइनसँग गोलरहित बराबरी खेलेको थियो ।
 
यस्तै समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गर्दै प्यालेष्टाइन पनि अन्तिम चारमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित गर्दै प्यालेष्टाइन समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
 
प्यालेष्टाइनको पनि ७ अंक नै भएपछि गोल अन्तरका आधारमा तुर्कमिनिस्तानभन्दा पछि परेको हो । पहिलो खेलमा नेपाललाई २-० ले पराजित गरेको प्यालेष्टाइनले समूह चरणको दोस्रो खेलमा तुर्कमिनिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
 
प्रतियोगिता अन्तरगत भोली समूह बीमा रहेका भारत र उत्तर कोरिया तथा ताजकिस्तान र फिलिपिन्स भिड्ने छन् । उत्तर कोरिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने भारत समूह चरणको अन्तिम खेल अघि नै बाहिरिएको छ । समान ३-३ अंक जोडेका ताजकिस्तान र फिलिपिन्सबीचको खेल सेमिफाइनलमा प्रवेश गर्ने समूह बी को अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।
 
समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग ३-० को हार व्यहोरेपछि सोमबारै आयोजित पत्रकार सम्मेलनमा रोवट्सले एन्फा र नेपाली फुटबल समर्थकहरुलाई धन्यवाद दिँदै  नेपाली टोलीको प्रशिक्षकका रुपमा अन्तिम खेल भएको घोषणा गरे । 
सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment