महेशले उत्तेजनामा राज्यलाई चुनौति दिएः भट्टराई

17/06/2011 23:34

प्रधानमन्त्री झलनाथ खनाल निकट मानिने एमाले युवा बिभागका इन्चार्ज योगेश भट्टराई बिहीवार दिनभर गृहमन्त्रीलाई दबाब दिएर युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतलाई छुटाउन ब्यस्त थिए । वस्नेतलाई छुटाउने वार्ता सकेपछि अनलाइनखबरले भट्टराईलाई एमालेको दैध भूमिकाबारे प्रश्न गरेको थियो ।

राज्यलाई चुनौति दिनेलाई छुटाउन सरकारको नेतृत्व गरिरहेको एमालेले ठुलै जोड बल लगायो नि है ?

–‘हैन, कुनै पनि व्यक्ति अपराधमा संलग्न छ भने हाम्रो पार्टी र पार्टीसँग सम्वद्ध संगठनले संरक्षण दिनु हुँदैन र दिएका पनि छैनन् । त्यस्ता व्यक्तिलहरु हाम्रो पार्टीभित्र छन् भने उनीहरुलाई कारवाही हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । आज गहृमन्त्रीसँग पनि हामीले प्रष्ट ढंगले भनेका छौं कि कुनै पनि व्यक्ति अपराध गर्छ र राजनीतिक अवरणमा छन् भने त्यस्ता व्यक्तिलाई कुनै पनि हातलमा छुट दिनु हँदैन र कारवाही गर्नुपर्छ । त्यसअर्थमा खिलानाथ ढकालमाथि आक्रमण गर्ने कुनै पनि व्यक्ति नेकपा एमालेका कार्यकर्ता हुन सक्दैनन् । छानविनबाट दोषी प्रमाणित जो सुकैलाई कारवाही हुन्छ । त्यसमा हाम्रो पूर्ण सहयोग रहन्छ ।

महेश बस्नेतले सार्वजनिक रुपमै राज्यलाई चुनौति दिएका त हुन् नि ?

–त्यो चाँहि आवेशबाट आएको अभिव्यक्ति हो, यद्यपि गलत हो । उहाँ जस्तो व्यक्तिले सार्वजनिक ढंगले यस्तो टिप्पणी गर्नु हुँदैन । हामीले आन्तरिक रुपमा उहाँलाई सचेत गराएका छौं । आवेगमा आएर यस्ता अभिव्यक्ति नदिन हामीले सबै साथीहरुलाई भनिसकेका छौं । कुनै पनि अपराधिक व्यक्तिलाई लुकाउन पाइदैन ।

एमालेले आफ्नो राज्यलाई चुनौति दिनेलाई छुटाउन सत्ताको दुरुपयोग किन गरेको ?

–त्यो विलकुलै भिन्न सन्दर्भ हो । आज युवा संघका अध्यक्ष महेश बस्नेत एउटा बन्द कोठामा संगठनका साथीहरुसँगको छलफलका क्रममा गिरफ्तार हुनु भएको हो । कुनै अपराधिक घटनामा लागेर गिरफ्तार हुनु भएको हैन । एउटा संगठनको अध्यक्षले आफ्ना संगठनका साथीहरुलाई भेला–बैठक गर्ने अधिकार हुन्छ । त्यो पनि निषेधित क्षेत्र भन्दा बाहिर भएको थियो । त्यसो भएको हुनेले प्रशासनले आज महेश बस्नेतलाई पक्राउ गर्नुपर्ने कुनै कारण थिएन ।

प्रशासनले त राज्यलाई चुनौति दिएको भनेर पो पक्राउ गरेको हो त ?

–कसले कहाँ के बोल्छ त्यसको पछाडि राज्य दौडिने कुरा आउँदैन । मान्छेले कहिले काँहि अनेक हिसावले राज्यलाई चुनौति दिन्छन् । माओवादीका कतिपय नेताहरुले अब हामी विद्रोह गछौं, राज्यसत्ता कव्जा गछौं भन्ने गर्छन, अब त्यसको आधारमा राज्यद्रोहको मुद्धा चलाउँदै हिड्ने कुरा त भएन । मान्छेको बाक स्वतन्त्रताको कदर पनि गर्नुपर्छ ।

त्यसो भए माओवादीले चुनौति दिन्छ भने हामीले किन नपाउने ? पत्रकार कुट्दा माओवादीलाई कारवाही भएन, त्यसले अब हामीले त्यस्तै गर्न पाउनु पर्छ भनेको हो एमालेले ?

–त्यस्तो होइन । हामी प्रेस जगतको मर्यादा गर्ने सबैभन्दा सचेत पार्टी हौं । हामी प्रेस र उनीहरुको स्वतन्त्रताको सदैव सम्मान गछौं । यसलाई अझै व्यवस्थित र मर्यादित बनाउन हामीले के सहयोग गर्नुपर्छ त्यसका लागि हामी तयार छौं ।

हिजो माओवादीले प्रेस स्वतन्त्रता हनन गर्यो भन्नुहुन्थ्यो तर, अहिले पत्रकार कुट्ने एमालेको कार्यकर्ता हो भनेर किटानी जाहेरी हुँदा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैनन नि ?

–हामीले त्यसमा संलग्न अपराधिहरुलाई कारवाही गर्न भनेका छौं । पिडित पत्रकारको उपचारको व्यवस्था गर्न पनि भनेका छौं । प्रेस र हाम्रोबीचमा कुनै वैमनश्यता छैन् । हामी एक अर्काका बीचमा सहकार्य गर्न तयार छौं भनेर पार्टीले भनिसकेको छ ।

परशुरामलाई कहिले पुलिससमक्ष बुझाउनु हुन्छ ?

–बुझाउने र नबुझाउने कुरै हैन । उनी अपराधी हुन भने प्रशासनले कारवाही गर्नुपर्छ । उनी हाम्रो नियन्त्रण र संरक्षणमा छैनन् । उनलाई पक्राउ गर्ने र दोषी पाइए कारवाही गर्ने दायित्व राज्यको हो ।

तर, तपाईहरुले आज जसलाई छुटाउनु भने उहाँले त मेरै संरक्षणमा छन् भनेर भन्दै आउनु भएको छ नि त ?

त्यो उहाँको उत्तेजनात्मक अभिव्यक्ति हो । त्यसका पछाडि लागेर वास्तविक अनुसन्धानलाई ओझेलमा पार्ने काम गर्नु हुँदैन । कुनै पनि व्यक्तिको उत्तेजनात्मक अभिव्यक्तिका पछाडि लागेर राज्यले आफ्नो मुल दायित्व विसर्नु हुँदैन ।

ए, उसो भए परशुराम तपाईहरुको सम्पर्कमा छैनन् ?

–परशुराम एक जना नागरिक हुन । हामीले उनलाई पार्टीका कुनै पनि काममा संलग्न नहुन भनिसकेका छौं । उनलाई हामीले जिम्मेबारीबाट निलम्बन गरिसकेका छौं र प्रशासनिक छानविनमा सहयोग पुर्याउन निर्देशन दिएका छौं । उनी न्यायीक छानविनमा आउनुपर्छ, निर्दोष भए त्यही सावित गर्नुपर्छ ।

तपाईले गरेको सहमतिलाई अस्वीकार गर्दै बस्नेतले छुट्न मानेन नि ?

–यो सहमति युवा संघकै पदाधिकारीहरुले गरेको हो । यसलाई उहाँले भन्नुपर्छ । हाम्रो निर्णयलाई अस्वीकार गरेर उहाँले गल्ती गर्नु भएको छ । कुनै सहमति छ भने युवा संघको बैठकमा राख्न सक्नुहन्छ । अहिले उहाँ जतिसक्दो छिटो काठमाडौं आउनुपर्छ ।

सोर्स: अनलाइनखबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment