नेपालको आत्मविश्वास बलियो

29/06/2011 20:15

काठमाडौ, अषाढ १५ - नेपालका लागि इस्ट टिमोर विश्वकप फुटबलको छनोटमा नयाँ प्रतिद्वन्द्वी हो । उसको सामना गर्दै नेपालले फिफा विश्वकप-२०१४ को छनोट यात्रा बुधबार सुरु गर्दैछ । सफलता हात पार्नेमा दुवै टिम ढुक्क छन् ।

'खेलाडी शतप्रतिशत फिट छन्,' नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्राहम रोबर्टस्ले भने, 'टिम निक्कै राम्रो छ । त्यसैले इस्ट टिमोरलाई हराउनेमा ढुक्क छौं ।' उनका समकक्षी एन्टोनियो कार्लोस भिएराले भने, 'राम्रो खेल्दै अनुकूल नतिजा हासिल गर्नका लागि आएका हौं । हाम्रा खेलाडी अर्को चरण प्रवेश गर्नका लागि योग्य छन् ।'

सहिद स्मारक 'ए' डिभिजन लिग 'ब्रेक' गर्दै ५ दिनको तयारीपछि नेपालले विश्वकप छनोट खेल्न लागेको हो । छोटो तयारी राम्रो भएको रोबर्टस्को दाबी छ । आठ वर्षअघि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पाइला टेकेका इस्ट टिमोरका खेलाडी रिउल भिआस मोन्टेइरोले भने, 'पाँच महिनायता हामी एकसाथ खेलिरहेका छौं । यो नै हाम्रो टिमको बलियो पक्ष हो ।' भिआस अस्ट्रेलियाली क्लबमा आबद्ध छन् ।

ब्राजिली प्रशिक्षक भिएराले इस्ट टिमोरको फुटबल व्यावसायिक नभएको बताए । उनले थपे, 'थुप्रै खेलाडी देश बाहिर खेल्छन् । उनीहरूलाई समेटेर राम्रो टिम बनाएका छौं । त्यसैले राम्रो नतिजा हात पार्नेमा विश्वस्त छौं ।'

दुवै टिम एक-अर्काबारे अनभिज्ञ छन् । 'नेपालको खेलको भिडियो हेरेको छु,' भिएराले बताए । 'इस्ट टिमोरबारे केही जानकारी छैन,' ५१ वषर्ीय बेलायती रोबर्टस्ले भने । दुवैले एक-अर्कालाई कमजोर भने नठान्ने बताए ।

चैतमा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कप-२०१२ को छनोटमा नेपाललाई सफलता दिलाएका इङ्लिस क्लब टोटेनहमका पूर्वकप्तान रोबर्टस्ले भने, 'इस्ट टिमोरसँग राम्रो प्रशिक्षक छन् । त्यसैले उनीहरूले ब्राजिलजस्तै खेल्ने प्रयास गर्नेछन् । हामी बार्सिलोनाजस्तै खेल्ने प्रयासमा हुनेछौं ।'

कप्तान सागर थापा पनि नेपालले इस्ट टिमोरको चुनौती पन्छाउनेमा आत्मविश्वासी छन् । उनले भने, 'च्यालेन्ज कप छनोटमा जस्तै यसपल्ट पनि सफल हुन्छौं भन्नेमा विश्वास छ ।'ं विश्वकप छनोटमा नेपालको नेतृत्व गर्ने उनी सातौं कप्तान हुन् । रोबर्टस् पनि सातौं प्रशिक्षक ।

फिफा वरीयतामा नेपाल १ सय ४७ औं र इस्ट टिमोर २ सयौंमा छन् । तैपनि वरीयताले खास प्रभाव नपार्ने रोबर्टस् बताउँछन् । उच्च वरीयतामात्र होइन, नेपाललाई घरेलु भूमिको फाइदा पनि हुनेछ । खासमा विश्वकप छनोट 'होम एन्ड अवे' को आधारमा खेल्नुपर्ने हुन्छ । तर आर्थिक समस्या टार्न दुवै खेल काठमाडौंमा हुने भएको हो । नेपालका लागि बुधबारका खेल होम र शनिबार अवे हुनेछ ।

'च्यालेन्ज कप छनोटमा जस्तै ठूलो संख्यामा उपस्थित हुँदै नेपाली टिमलाई साथ दिने आस छ,' रोबर्टस्ले बताए । घरेलु भूमिमा खेल्न नपाउनुले ठूलो प्रभाव पर्ने ५५ वषर्ीय भिएराको बुझाइ छ । नेपालले पाँचौं र इस्ट टिमोरले दोस्रोपल्ट विश्वकप छनोट खेल्न लागेको हो ।

च्यालेन्ज कप छनोटका तीन खेलमा एक गोलमात्र गरेकाले इस्ट टिमोरविरुद्ध नेपाली टिम गोल गर्नैपर्ने दबाबमा हुनेछ । काठमाडौंमा भएको विश्वकप छनोटका ३ खेलमा नेपाल गोल गर्न असफल रहेको थियो । विश्वकप छनोटमा नेपालले अहिलेसम्म २४ खेल खेलेको छ । त्यसमध्ये २ जित, उति नै बराबर र २० मा हार बेहोरेको थियो । नेपालले १५ गोल गर्दै ८७ गोल खाएको छ ।

 

 

विश्वकप छनोटमा नेपाल

    वर्ष    खेल    जित    ड्र    हार    गोल

१९८६    ४    -    १    ३    ०-११

१९९०    ६    -    -    ६    ०-२८

१९९८    ६    -    १    ५    २-१९

२००२    ६    २    -    ४    १३-२५

२०१०    २    -    -    २    ०-४

कुल    २४    २    २    २०    १५-८७

 

प्रतिद्वन्द्वी    खेल      जित    ड्र    हार    गोल

मकाउ    ४    २    १    १    १२-५

मलेसिया    ४    -    १    ३    ०-१०

ओमान    ४    -    -    ४    ०-११

दक्षिण कोरिया    ४    -    -    ४    ०-१९

जापान    २    -    -    २    ०-९

इराक    २    -    -    २    ३-१३

सिंगापुर    २    -    -    २    ०-१०

कजाखस्तान    २    -    -    २    ०-१०

कुल    २४    २    २    २०    १५-८७

दशरथ रंगशालामा नेपालको प्रदर्शन

प्रतिद्वन्द्वी    खेल    जित    ड्र    हार    गोल

दक्षिण कोरिया    १    -    -    १    ०-२

मलेसिया    १    -    १    -    ०-०

ओमान    १    -    -    १    ०-२

कुल    ३    -    १    २    ०-४

 

 

सम्भावित नेपाली टिम

गोलकिपरः किरण चेम्जोङ

डिफेन्डरः सागर थापा (कप्तान), सन्दीप राई, रोहित चन्द, रवीन श्रेष्ठ, विराज महर्जन

मिडफिल्डरः शिव श्रेष्ठ, नीराजन खड्का, भरत खवास

फरवार्डः जुमनु राई र अनिल गुरुङ

source:kantipur

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment