फेसबुक प्रयोगमा केटाकेटी

21/06/2011 20:33

राजनराज पन्त-
सामाजिक सञ्जालको क्षेत्रमा फेसबुकको प्रयोग भइरहेको छ। नेपालमा फेसबुक प्रयोगकर्ता करिब नौ लाख पुग्न लागिसके जसमा १३ देखि १५ वर्ष उमेरका प्रयोगकर्ताको संख्या ७ प्रतिशत छ। १८ देखि २४ वर्षसम्मका प्रयोगकर्ताको संख्या भने ४५ प्रतिशत छ।

नेपालमा मात्र नभई विश्वकै फेसबुक प्रयोगकर्ताको तथ्यांक हेर्ने हो भने स्कुल, कलेजका विद्यार्थी तथा युवापुस्ताको संख्या द्रूत गतिले बढेको छ। हुन त फेसबुकको एकाउन्ट खोल्दा फेसबुकको नियमानुसार प्रयोगकर्ताको न्यूनतम उमेर १३ वर्षको हुनुपर्ने छ तर उमेर ठीक हो होइन भन्ने जाँच गर्ने कुनै ठोस प्रविधि नभएकाले १३ वर्षभन्दा मुनिका केटाकेटीले पनि यसको प्रयोग गरिरहेका छन्।

कुनै बच्चाले कम्प्युटर, इन्टरनेट, इमेल चलाउन जान्दछन् भने तिनीहरुले फेसबुकमा आफ्नो खाता खोलेको हुन्छन्। उनीहरुले १३ वर्षभन्दा माथिको उमेर झुटो बताएर खाता खोलेका हुन्छन्। फेसबुक साथीभाइहरुसँग आफ्नो विचार राख्न, तस्बिर ...सेयर' गर्न, आफ्ना पुराना साथी भेट्न अत्यन्त उपयोगी सामाजिक सञ्जाल हो। यसैमा तल्लीन भइरहनु भने लाभदायक छैन। फेसबुक चलाउँदा ध्यान दिइएन भने कम्प्युटर भाइरस लाग्ने, नचाहिँदा इमेल आउने, एक प्रकारले समय व्यर्थमा खर्च हुने तथा काम नपाएका फेसबुककर्ताले नचाँहिदा कुरा लेखेर हैरान पार्छन्। झन् कलिलो दिमागमा यसले नराम्रो प्रभाव पनि पार्न सक्छ।

बालबालिकालाई इन्टरनेट चलाउँदा अभिभावकको निगरानी हुनु जरुरी छ। त्यसमा पनि फेसबुक चलाउँदा। पढाइ छाडेर च्याट गरेर समय बिताइरहने हुनाले र फेसबुक चलाउँदा केटाकेटीले ध्यान नपुर्‍याउने हुनाले तिनीहरुलाई फेसबुकका नराम्ररा र प्रश्नवाचक वास्तविकतामा कसरी जोगाउन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने आवश्यक छ। त्यसका लागि केही सुझाव राख्न चाहन्छु।

सर्वप्रथम, उमेर नपुगेका बच्चालाई फेसबुकमा एकाउन्ट खोल्न नदिनु प्रभावकारी उपाय हो। उनीहरुसँग आफ्नो एकाउन्ट नै हुँदैन भने तिनीहरुले फेसबुक चलाउँदैनन् र फेसबुकबाट पर्ने नकारात्मक प्रभावहरुबाट बच्न सक्छन्। तिनीहरु राम्रै कामका लागि फेसबुक चलाउन चाहन्छन् भने दुई उपाय छन्। एक, तिनीहरुलाई आफ्नो फेसबुक एकाउन्ट प्रयोग गर्न दिने, अर्को तिनीहरुको फेसबुक एकाउन्टको पासवर्ड आफूले पनि राख्ने। त्यसले गर्दा तिनीहरुले फेसबुकमा गरिराखेका गतिविधि थाहा पाउन सकिन्छ र नियन्त्रण गर्न सकिन्छ। बच्चाहरुको यस गतिविधिमा तिनीहरुले कसलाई, के कस्ता कुरा पोष्ट गरिराखेका हुन्छन् थाहा हुन्छ। यो थाहा पाउनु जरुरी छ। तिनीहरुले बनाएका साथी साँच्चै तिनीहरुका साथी हुन् भन्ने विश्वस्त पनि हुन्छ।

बच्चाहरुसँग फेसबुकमा के पोष्ट गर्ने, कसलाई पोष्ट गर्ने आदि सूचनाको जोखिमबारे छलफल गर्नुपर्ने अर्को उचित उपाय हो। यो बच्चालाई मात्र नभई सबै फेसबुक प्रयोगकर्ताले जान्नु जरुरी छ। फेसबुकले फोन नम्बर तथा अन्य व्यक्तिगत सूचना देखाउने हुनाले फेसबुकको प्राइभेसी सेटिङलाई अफ गर्न नबिर्सनु प्रभावकारी उपाय हो।

तपाईँ सँधै बच्चाहरुसँग हुनुहुन्न र तपाईँको अनुपस्थितिमा बच्चाहरुले इन्टरनेटमा के हेरिरहेका छन्, के गरिरहेका छन् भन्ने थाहा हुन्न। अभिभावकले नियन्त्रण गर्न सक्ने सफ्टवेयर आफ्नो कम्प्युटरमा राख्नुभएको छ भने त्यसले बच्चाहरुले कम्प्युटरमा तथा फेसबुकमा के गरिराखेका छन् भन्ने तथ्य घरमै नभए पनि लगाउन सक्नुहुन्छ।
फेसबुकका थुप्रै नकारात्मक प्रभाव भए पनि यो साथीभाइ, नातेदारसँग सम्पर्कमा रहिरहन उपयोगी छ। मात्र यसलाई प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।

सोर्स: नागरिक

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment