अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु

21/06/2011 11:40
प्रेम नेपाली/लालप्रसाद शर्मा, पोखरा, अषाढ ७ -  पर्यटकीय नगरीलाई क्रिकेटमार्फत खेल पर्यटन सहरको रूपमा विकास गर्न विभिन्न क्षेत्रको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्य सुरु गरिएको छ । खेलकुद, पर्यटन, समाजसेवी, व्यवसायी र सरकारी क्षेत्रको सहभागितामा यतिखेर पोखरा रंगशालाभित्र ८० रोपनी क्षेत्रफलमा क्रिकेट मैदान बनाउने काम धमाधम भइरहेको छ ।
 

विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी पोखरा क्रिकेट मैदान निर्माण समितिले पहिलो चरणमा वर्षौंदेखि अलपत्र मैदानलाई खेल सञ्चालन गर्न मिल्ने बनाउने छ । त्यसपछि क्रिकेटको अन्तर्राष्ट्रि्रय र राष्ट्रिय क्षेत्रको सहयोगमा थप योजना र काम अघि बढाइने समितिले जनाएको छ । 'पोखरालाई क्रिकेट खेलको अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाउने लक्ष्यसाथ थालिएको छ,' निर्माण समितिका सदस्य सचिव देवेनसन प्रजुले भने, 'पहिलो चरणमा अलपत्र मैदानलाई खेल्न मिल्ने  बनाएर निर्माणको ढोका खोलिने छ ।'

उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको 'पिच' बनाएर खेल सुरुवात गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका खेलाडी र संघका प्रतिनिधि सहभागी हुन आउनुका साथै थप सहयोग जुट्ने विश्वास व्यक्त गरे । 'क्रिकेटका अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ल्याएर खेलप्रतिको लगाव, योजना देखाउन सके अन्तर्राष्ट्रियस्तरको मैदान र रंगशाला बनाउन सकिने कुरामा हामी विश्वस्त छौं,' कास्की क्रिकेट संघका अध्यक्ष समेत रहेका प्रजुले भने, 'यो लक्ष्यमा विभिन्न क्षेत्रको सहयोग र उपस्थितिले हामी सबैलाई उत्साहित बनाएको छ ।'

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन यहाँका खेलकुदप्रेमी, खेलाडी, व्यवसायी, सरकारी र पर्यटन क्षेत्रका निकायले गच्छेअनुसार आर्थिक तथा भौतिक सहयोग दिन सुरु गरेका छन् । उत्तरमा अन्नपूर्ण हिमशृंखला, चारैतिर हरियाडाँडा, तारेहोटलसहितका पूर्वाधार र उपयुक्त हावापानीका कारण पोखरा अन्तर्राष्ट्रिय क्रिकेटको गन्तव्यस्थल बन्ने उनीहरूको विश्वास छ ।

नेपाल क्रिकेट संघका उपाध्यक्ष डा.वीरेन्द्रसिंह गुरुङले प्राकृतिक, भौगोलिक र भौतिक दृष्टिले पोखरा अन्तर्राष्ट्रिय क्रिकेटको गन्तव्यस्थल बन्न सक्ने बताए । उनले यही सम्भावनालाई देखेर संघले अलपत्र मैदानलाई सुधार्न एसियाली क्रिकेट परिषद्ले दिने २० लाखमध्ये पहिलो चरणमा निर्माण समितिलाई ६ लाख रुपैयाँ दिएको बताए । 'पहिलो चरणको रकमले मैदान सम्याउने काम थालिएको हो,' क्यान क्षेत्र नं. ८ पोखराका अध्यक्षसमेत रहेका गुरुङले भने, 'दोस्रो चरणमा दस लाख रुपैयाँ आएपछि थप काम अघि बढाइनेछ ।'

समितिकै सक्रियतामा अहिले खाल्टाखुल्टी र झाडि रहेको मैदान क्षेत्र समथर बनाउने काम तीव्रताका साथ अघि बढेको छ । आगामी मंसिरभित्र खेल सञ्चालन गर्न मिल्ने मैदान बनाउने लक्ष्य लिएको प्रजुले बताए । क्रिकेट खेल मैदान नहुँदा खेलाडीले यहाँको नगर विकास प्रशिक्षणस्थित मैदान भाडामा लिएर खेल र प्रतियोगिता सञ्चालन गर्नुपरेको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदानका लागि पश्चिमतर्फ ८० रोपनी क्षेत्रफल छुट्टयाएपछि ०६२ सालमा कास्की क्रिकेट संघले मैदानमा तारबारसहित पिच निर्माणको लागि १३ लाख रुपैयाँ खर्चेको थियो ।

Source:Kantipur

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment