कृषिमा इजरायली अनुकरणबाट नेपालको समृद्धि हुनेछ

17/06/2011 19:05

६२ देशका २०० शहरमा रहेका नेपालीहरुबीच पुग्ने ऐक्यबद्धता मासिकले नेपालसँग दौत्यसम्बन्ध रहेका मुलुकहरु मध्ये नेपालीहरु बढी भएका देशको सन्दर्भमा सुसम्बन्ध विशेष अंक प्रकाशन गर्दै आएको छ । यसैसन्दर्भमा अप्रिल २० तारिखमा इजरायलको राष्ट्रिय दिवस परेको अवसरमा इजरायलका लागि नेपाली राजदूत बैजनाथ थपलियासँग इजरालयमा कार्यरत ऐक्यबद्धता संयोजक तथा साहित्यकार हरि मानन्धरले कुराकानी गर्नुभएको छ । 
नेपालको तेह्रथुम जिल्लामा जन्मिएर विभिन्न संघसंस्था राजनीतीक संगठनका साथै त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रका सहप्राध्यापक रहँदाका क्रममै बैजनाथ थपलियालाई नेपाल सरकारले सन् २००७ डिसेम्बरदेखि इजरायलका लागि आवासीय राजदूतको जिम्मेबारी दिई पठाएपछि सोही हैसियतमा हाल कार्यरत रहँदै आउनु भएको छ । प्रस्तुत छ साइप्रस समेत हेर्ने जिम्मेबारी पाएका राजदूत थपलियासँग गरिएको कुराकानी: 

नेपाली दूतावासमार्फत इजरायली सरकारसँग काम गर्न निकै कठिनाई हुने गुनासाहरु सुन्ने गरिन्छ यहाँको अवस्था के छ  ?
काम गर्न सोचेको र चाहेको जस्तो सजिलो त पक्कै पनि हुँदैन । इजरायलको वस्तुस्थिति सुरक्षा लगायतका संवेदनशीलताका कारण पुर्याउनुपर्ने प्रक्रिया इत्यादिमा कठिनाई त आउँछ नै तैपनि हामीले इजरायल सरकारका तर्फबाट पूर्ण सहयोग पाइरहेका छौं र यसप्रति हामी आभारी छौं ।
हाल इजरायलमा कति नेपालीहरु कार्यरत होलान् ?
हाम्रो अनुमानमा हाल इजरायलमा झण्डै ८ हजार जति नेपालीहरु छन् भन्न सकिन्छ । दैनिकजसो नेपालीहरुको संख्या घट्दो छ । र इजरायलको   Data Protection Law ले यत्ति नै संख्यामा कुनै देशका कति नागरिक छन् भनि सार्वजनिक गर्न नमिल्ने कुरा यहाँका अधिकारीहरु बताउँछन् र हामीले पनि त्यसको सम्मान गर्दै यो तथ्याङ्कलाई अनौपचारिक रुपमा मात्र भन्दै आएका छौं । ती मध्ये केही अध्ययन गर्न आउने विद्यार्थी पनि छन् जसमध्ये विभिन्न विश्वविद्यालयमा उच्च शिक्षामा जम्मा १० जना र १० महिने कृषि सम्बन्धित तालिममा ७३ जना नेपालीहरु इजरायलमा अध्ययनरत रहेको हामीले बुझेका छौं ।
प्रत्येक नेपाली नागरिकले इजरायलमा आइसकेपछि राजदूतावासलाई आफ्नो बारेको जानकारी गराउनु पर्दछ भनी राहदानीको पछाडि लेखिएको छ । तर एक्दमै कमैले मात्र त्यस्तो जानकारी दूतावासलाई गराइएका कारण हामीसँग सबै नेपाली नागरिकहरुको तथ्यांक उपलव्ध छैन । कुनै पनि नेपालीले सम्बन्धी देशमा गएपछि आफ्नो बारेको सूचना दूतावासमा रजिष्ट्रेशन गराउन अनुरोध गर्दछु ।
इजरायलमा कामगर्ने नेपाली कामदारहरुको मुख्य समस्याहरु के कस्ता पाउनुभएको छ ? 
यहाँ कार्यरत नेपालीले भोग्नु परेका समस्याहरु भनेको स्वास्थ्य बिमा रोजगारदातासँग हुने असमझदारी कानूनले तोकेको भन्दा अन्यत्रै कामगर्दा आइपर्ने समस्या प्रवेशाज्ञा अवधिभन्दा अधिक बस्न खोज्दा विभिन्न सेवा सुविधाबाट बन्चित हुँदा आइपर्ने लगायतका छन् । ती मध्ये स्वास्थ्यबिमासँग सम्बन्धित समस्याहरु नै बढी मात्रामा आउँछन् । 
विदेशी कामदारको लागि स्वास्थ्य बिमा ज्यादै नै महत्वपूर्ण कुरा हो किनकि यस्तो बिमा विना आकस्मिक उपचार बाहेक अन्य अवस्थामा डाक्टरहरुलाई भेट्न र अस्पतालमा जचाएको शुल्क वा खर्च तिर्न निकै कठिन र लगभग असम्भव नै हुन्छ । यस प्रकारको शुल्क इजरायलमा अत्यन्तै महंगो छ । बढीमा ११० सेकेलसम्मको मासिक स्वास्थ्य विमा वापतको शुल्क रोजगारदाताले कामदारको तलबबाट कट्टा गर्न पाउने प्रावधान भएको बुझिन्छ । आकस्मिक उपचार पश्चात् यदि कसैको उपर्युक्त स्वास्थ्य विमा छैन भने उसलाई त्यस्तो आपतकालीन उपचार बापतको शुल्क तिर्न लगाइन्छ । कतिपय ल्यावटेष्टहरुको खर्च बिमाले समेट्दैन र कमजोर आर्थिक अवस्थाको रोजगारदाताले आफ्ना कामदारको उपचारमा बिमाले नसमेटेको रकम तिर्न नसक्ने अवस्थामा नेपालीहरुले बेहोर्नुपर्ने देखिएको छ । 
अर्को केही नेपालीहरु आफ्ना अशक्त रोजगारदातालाई कूटपिट गरेको आरोपमा पक्राउ पर्ने समस्या पनि गम्भीर रुपमा आएको छ । साथै उचित पारिश्रमिक नपाएको नेपालीहरुद्वारा नै नेपालीहरु ठगिने गरेका ओभरटाइम कामको कम पारिश्रमिक दिने गरिएको तथा रोजगारदाताका अलावा निजका परिबारका अन्य सदस्यहरुका लागि समेत काम गर्नुपर्ने लगायतका समस्याहरु दूतावाससमक्ष आउने गरेका छन् । पारिवारिक विछोडका कारण आइपर्ने मानसिक तनाव पीडा एवं समस्याहरु पनि बेलाबखतमा आउने गरेका छन् । सुसारेको काम अत्यन्तै संवेदनशील काम हो । आम्दानी पनि अन्य देशको तुलनामा राम्रो छ ।  यसमा नेपाली श्रमिकहरुले निभाउनुपर्ने कर्तव्य पनि धेरै छन् । खास गरी बृद्धबृद्धा अपाङ्ग अशक्त रोगीहरुको सेवामा सहनशीलता अत्यन्तै आवश्यक छ । आफ्ना रोजगारदाताहरुलाई उचित सम्मान दिन र कहिलेकाहीँ उसको उचित स्याहार सुसार गर्दागर्दै पनि कतिपय अवस्थामा तनावका कारण धैर्यशक्ति गुमाउँदा नेपाली कामदारहरु समस्यामा पर्ने गरेका छन् । यो वास्तविकतालाई मनन गरी काम गर्नुपर्नेमा हामीले सधै नेपालीहरुलाई सचेत गराइरहेका हुन्छौं । समग्रमा केही समस्याहरु भएपनि अन्यत्रको तुलनामा इजरायलमा कामदारहरु आर्थिक सामाजिक एवं शारीरिक हिसाबले बढी सुरक्षित छन् ।
इजरायलमा कति नेपाली संघसंस्था कार्यरत छन् तिनीहरुसँग दूतावासले कसरी सहकार्य गरेको छ ?
इजरायलमा नेपालीकामदारको सामूहिक हितका लागि भनि नेपाली श्रमिकहरुद्वारा संस्थाहरु खोल्ने काम भएका छन् । केही कामदारसँग सम्बन्धित सांस्कृतिक र जातीय पहिचान बोकेका संस्थाहरु सकि्रय छन् । तर धेरैजसो त्यस्ता खुलेका  संस्थाहरुका पदाधिकारी वा संगठन संरचना वा उद्देश्यकाबारेमा दूतावासमा जानकारी प्राप्त भएको छैन । दूतावाससँग  निरन्तर सम्पर्कमा रहने संस्थाहरुसँग नेपाल र नेपालीको निम्ति मिलेर काम गरौं भन्ने विचारलाई दूतावासले निरन्तरता दिइरहेको छ ।
विगत करिब २ बर्षदेखि नेपाली सुसारे कामदारहरुको माग बन्द छ । किन बन्द गरिएको होला माग खुल्ला गर्न यहाँले दूतावासमार्फत केही कदम चाल्नुभएको छ कि ?
नेपाली कामदारको माग बन्द हुनुका पछाडि मुख्य रुपमा तीनवटा कारणहरु रहेका छन । 
पहिलो नेपाली कामदारहरु अन्य देशका कामदारको तुलनामा नेपालबाटै चर्को शुल्क तिरेर आउनुपर्ने यहाँ आईसकेपछि उक्त पैसा उठाउन जस्तोसुकै र जहाँसुकै कामगर्न पनि तयार हुने गरेको र शोषणमा पर्ने सम्भावना बढी भएको देखिन्छ । 
दोस्रो यसअघि पनि दुई पटक नेपालीहरुका लागि प्रवेषाज्ञा बन्द गरिँदा नयाँ संयन्त्र बनाएर जानेगरी खोलिए पनि त्यसमा प्रगति नभएको र नेपालीहरु ठगिने क्रम बढ्दै गएकोले यसलाई बन्द गराउँदा समस्या कम हुन भन्ने इजरायली पक्षको तर्क रहेको छ । 
तेस्रोमा नेपाली कामदारहरु मेहनेति हुँदाहुँदै पनि भाषाको उचित ज्ञान र तालिम विना आउने गरेकोले समस्यामा पर्ने गरेका नेपालमा कामदारबाट चर्को शुल्क लिइएको भन्ने विषयमा इजरायलका केही म्यानपावर एजेन्सीहरु खारेजीमा परे पनि काठमाडौंस्थित इजरायली दूतावासले उठाएका केही नेपाली म्यानपावर कम्पनीहरुका बारेमा गरिएको प्रश्नको समेत जानकारी केही नआएको यहाँका अधिकारीहरुले भेटघाटको क्रममा उठाउने गरेका छन् । हाल आएर भिसा अवधि समाप्तिपछि पनि अन्य हैसियतमा इजरायलको बसाई लम्ब्याउने धुनमा लागेको भन्ने जस्ता विषयले बन्द भिसालाई खुलाउन मद्दत गरेको देखिँदैन । बन्द कामदार भिसा खुलाउन नेपालबाट मन्त्रीस्तर तथा अन्य उच्चतहमा इजरायलको भ्रमण दूतावासबाट यहाँका विभिन्न उच्च निकायहरुमा पटकपटक भेटघाट अनुरोध र छलफल भएपनि इजरायलले दिगो र स्थायी प्रकृतिको संयन्त्रमार्फत दीर्घकालीन समस्याको समाधान गर्न सकिने प्रस्ताव गरिरहेको छ जस अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासी संगठन आई एम को संलग्नतामा नेपाल र इजरायलबीचको श्रम सम्झौता गर्ने भन्ने हो । उक्त प्रस्ताव नेपालको सम्बन्धित निकायमा विचाराधीन छ । त्यस्ता विषयमा दूतावास आफैले निर्णय गर्न सक्दैन । 
इजरायलीहरुको नेपाली कामदारहरुप्रती हेर्ने दृष्टिकोण के पाउनु भएको छ ?
इजरायली पदाधिकारीहरुले नेपाली कामदारहरुप्रती सद्भाव र सकारात्मक दृष्टिकोण राखेको पाएको छु । नेपालीहरु मिहेनति र इमान्दार हुन्छन् भन्ने कुरा प्रत्येक पटकका कामदार सम्बन्धी भेटघाटमा बताउँछन् । एउटा भरपर्दो संयन्त्र बन्न सकेमा वर्तमानमा देखिएको समस्या समाधान हुने थियो भन्ने कुरा पनि उठ्ने गर्छन् ।
नेपालीहरु विशेष महिलाहरुको लागि इजरायल किन आकर्षक गन्तव्य भएको होला ?
यो त स्पष्टै छ नि । नेपाली कामदार जाने अन्य धेरै मुलुकहरुको तुलनामा इजरायलमा तलव धेरै पाइने सुरक्षा र कामदार हक अधिकारको स्पष्ट व्यवस्था लगायतका व्यवस्थाले त्यस्तो भएको बुझ्न सकिन्छ ।
काम गर्ने समयाबधि सकिएपछि पनि यही नै शरणार्थी बनेर बसेकाहरुप्रती दूतावासले के सोच बनाएको छ  ?
यस विषयमा बाहिर चर्चा सुनिए पनि हालसम्म दूतावासलाई आधिकारिक जानकारी आएको छैन । वास्तवमा नेपाल सरकार र दूतावास कसैले पनि कोही नेपाली विदेशमा अनियमित वा गैरकानूनी रुपमा बसुन् वा विभिन्न प्रलोभनमा परी त्यस्ता खालका हैसियतको खोजी गरुन् भन्ने चाहना राख्दैन । त्यस्ता कि्रयाकलापले नेपालको छविमा नकारात्मक प्रभाव पार्दछ । त्यसैले दूतावासले नेपाली श्रमिकहरुलाई आफ्नो कामगर्ने अवधि समाप्तिसँगै स्वदेश फर्कन विभिन्न सूचनामार्फत अनुरोध गरेको छ । तपाईहरुको मेडियामार्फत पनि पुनः यही अनुरोध गर्दछु । 
नेपाल पर्यटन बर्ष २०११ लाई सफल पार्न राजदूतावासमार्फत यहाँले केही कार्यक्रम गर्नुभएको छ वा गर्ने योजना बनाउँदै हुनुहुन्छ ?
नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन राजदूतावासले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यहाँका पर्यटन व्यवसायीहरुसँग अन्तक्रिया गर्ने नेपाली प्रचार सामग्रीहरुको वितरण नयाँ पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराउने तथा यहाँका व्यवसायीहरुलाई नेपाल लक्षीत पयर्टकीय कार्यक्रम ल्याउन आग्रह गरिरहेका छौं । नेपाल सरकारले घोषणा गरेका विभिन्न कार्यक्रम र प्रोत्साहनकाबारे यहाँका व्यवसायीहरुमार्फत आम इजरायलीमाझ सूचना सम्प्रेषणका लागि अनुरोध गरिरहेका छौं । गत फेवु्रअरीमा मात्रै यहाँका ठूला पर्यटन व्यवसायीहरुमाझ नेपालको पर्यटनसँग सम्बन्धित जानकारी भीडीयो प्रदर्शन सहितको एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छौं । यस पटकको बिदामा ठूलो समूहमा इजरायली पर्यटक नेपाल जाने जानकारी हामीले पाएका छौं । आउँदा दिनमा पनि कार्यक्रमहरुको आयोजना गर्न तयारी गरीरहेका छौं र इजरायलमा रहनुभएका नेपाली नागरिकहरुसँग पनि यसमा हातेमालो गर्न आग्रह गरिरहेका छौं । प्रत्येक नेपालीले एकजना मात्र इजरायली पर्यटक नेपाल पठाउँदा पनि हालको तथ्यांकलाई सुधार्न सकिन्छ भन्ने सोंच राखेका छौं ।
यहाँले आफ्नो कार्यकालमा इजरायलसँगको सम्बन्ध सुदृढ बनाउन के कस्ता काम गर्नुभएको छ ?
नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई केवल श्रम विषयबाट मात्र हेर्न मिल्दैन । कूटनीतिक सम्बन्धका धेरै आयामहरु हुन्छन् जसले विविध क्षेत्रमा काम गरिरहेको हुन्छ । मेरो कार्यकालमा दुईपटक मन्त्रीस्तरीय तथा अन्य उच्चस्तरमा नेपालबाट इजरायलको भ्रमण भएका छन् । इजरायलबाट पनि केही उच्चस्तरमा राजनीतिक र सरकारी भ्रमण भएका छन् । यसले पक्कै पनि दुईपक्षीय सम्बन्ध सुदृढ बनाउनमा मद्दत गरेको छ । गतबर्ष मात्रै नेपाल र इजरायलबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । कृषि शिक्षा पर्यटन व्यापार र श्रम लगायतका विषयमा सहकार्य गर्न हामीले पहल गरिरहेका छौं ।
इजरायल सरकारले नेपालको वर्तमान परिवर्तन र संविधान निर्माण प्रकि्रयालाई कसरी लिएको पाउनुभएको छ ?
संविधान निर्माण र वर्तमान शान्ति प्रक्रियाको तार्किक निष्कर्षमा पुर्याउन नेपालले चालेको कदमप्रति निकै सकारात्मक रुपमा हेरिरहेको पाएको छु । यहाँको सरकारको शुभेच्क्षा सद्भाव र समर्थन प्राप्त भइरहेको छ ।
इजरायलबाट नेपालले कृषि तथा औद्योगीकरण सम्बन्धमा कसरी सहकार्य गर्न सक्छ? 
कृषि सहकार्य गर्ने विषयमा गतबर्षको कृषि सम्झौता सम्पन्न भएपछि बाटो खुलेको छ । नेपालबाट विभिन्न किसिमका छात्रबृत्ति तालिम अध्ययन भ्रमण लगायतका कार्यक्रममा सहभागिता भइरहेको छ भने इजरायलले सानो रुपमा धादिङमा कृषि कार्यक्रम अगाडि बढाउने एक परियोजना संचालन गरेको छ । औद्योगीकरणका विषयमा उच्च प्रविधि क्षमता भएको इजरायलबाट नेपालमा प्राविधिक लगानी बढाउन हामीले अनुरोध गरिरहेका छौं । शान्ति प्रक्रियाको तार्किक निष्कर्षको प्रतीक्षामा रहेको कतिपय इजरायली लगानीकर्ताले मसँगको भेटघाटमा बताउने गरेका छन् । इजरायल आर्थिक सहयोग तथा विकास संगठन (OECD)  को नयां सदस्य भएको छ त्यसले पनि नेपालमा लगानी भित्र्याउन मद्दत गर्न सक्छ भन्ने सोचाई मैले राखेको छु ।
इजरायलमा नेपालीले सिकेको सीप र प्रविधिलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने पनि केही सोच बनाउनु भएको छ की यसका लागि नेपाल सरकारलाई के सल्लाह दिन चाहनुहुन्छ ?

इजरायलमा सिकेका सीपहरु खासगरी कृषिक्षेत्रको सीप नेपालमा लागू गर्न सकिन्छ । इजरायलबाट फर्किएका केही नेपाली कृषि श्रमिकहरुले नेपालमा पनि पहल थालिसकेको हामीले जानकारी पाइसकेका छौं । मुख्यतः बृहत र व्यवसायिक खेती प्रणाली बेमौषमी खेती मल र पानी सहितको थोपा सिचाइ प्रविधि अनुकरणीय हुन सक्छन । नेपाल फर्किने नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरुले नेपालमा त्यस्तो उद्यमका लागि सामूहिक रुपमा दूतावासको सिफारिस मागेमा दूतावासले उपलव्ध गराउने गरेको छ । साथै नेपालबाट कृषि मन्त्रालय राष्ट्रिय योजना आयोग तथा अन्य उच्चस्तरमा इजरायल भ्रमण हुँदा पनि दूतावासले सो बारे सोधीखोजी गर्ने गरेको र त्यसमा सबै सम्बन्धित निकायका उच्चस्तरबाट त्यस् खालका कार्यक्रमका लागि उचित प्राथमिकता र प्रोत्साहन दिने कुरा भईरहेकै हो । 
अन्त्यमा थप नेपाली कामदारहरु इजरायलमा भित्र्याउन के गर्नुपर्ला जस्तो लाग्छ ?
सर्वप्रथम त वर्तमानमा देखिएको समस्या सुल्झाउन राजनीतिक संलग्नता नेपालको श्रम मन्त्रालयको इजरायलमा नेपाली कामदार सम्बन्धी दृष्टिकोण पहल र निर्णय आवश्यक पर्दछ । इजरायलमा नेपाली कामदारलाई रोजगार दिलाउनु पर्ने बाध्यता नेपालको हो । त्यसका लागि इजरायल सरकारले उठाएका जिज्ञासा वा प्रस्तावहरुको पनि हामीले उचित तबरले सम्बोधन गर्न जरुरी छ । नेपाली म्यानपावर कम्पनीहरुले पनि नेपालीहरुलाई इजरायल पठाउँदा नियमसम्मत तरिकाले पारदर्शी शुल्क लिई कामदार काम गर्न जाने स्थान तलब स्वास्थ्य बीमा लगायतका विवरण स्पष्ट रुपमा कामदार र दूतावासलाई समेत दिएमा आउँदा दिनमा समस्या कम गर्न सकिन्छ र दूतावाससँगको सहकार्य मजबुत बनाउन सकिन्छ । हामी सबैको ध्यान नेपालीहरु वैदेशिक रोजगारमा इजरायलमा ल्याउँदा कसरी उनीहरुलाई यहाँको कानूनसम्मतको तलब सेवा सुविधा र सुरक्षा गर्न सकिन्छ भन्ने नै हो । इजरायली म्यानपावर कम्पनीहरुलाई भन्ने काम इजरायल सरकारको हो र हामीले यहाँको सरकारसमक्ष नेपाली म्यानपावर कम्पनीहरुले उठाएका समस्याहरु राखिरहेका छौं ।
अन्त्यमा यहाँको मिडियामार्फत दूतावासको विचार गतिविधि र समस्या राख्ने मौका दिनुभएकोमा यहाँको टीमलाई पनि धेरै धेरै धन्यबाद ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment