बैद्य र भट्टराई पक्षको हस्ताक्षरले प्रचण्ड शसंकित - मन्त्री फेर्ने गृहकार्य सुरु

25/06/2011 11:04

११ असार, काठमाडौं । शुक्रबारको केन्द्रीय समिति बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डाक्टर बाबुराम भट्टराई पक्षधर सभासदले सरकारमा सहभागी मन्त्रीहरु समानुपातिक स्वरुपको बनाउन माग गर्दै १ सय ५९ सभासदको हस्ताक्षर बुझाएपछि प्रचण्डको टाउको दुखाई झन् थपिएको छ ।

आवरणमा यो हस्ताक्षर समानुपातिक प्रतिनिधित्वका लागिमात्र देखिएपनि यसले माओवादीभित्र आगामी समिकरणको रेखा कोरेको बताइन्छ । बैद्य निकट एक नेताले अनलाइनखबरलाई भने–‘आजसम्म प्रचण्डले बहुमतका आधारमा निर्णय गर्दै आएकोमा दुई उपाध्यक्ष मिलेर ‘अब तिम्रो बहुमत छैन, हामीसँगको सहमतिबिना कुनै निर्णय नगर भन्ने स्पष्ट सन्देश दिएका छन् ।’

बिचार र दर्शनले फरक–फरक ध्रुवमा देखिएपनि अध्यक्षको कार्यशैलीबिरुद्ध उभिनेमा ममिलामा भने दुवै उपाध्यक्ष एक भएका छन् । मन्त्री छनौट, पार्टीभित्रका महत्वपूर्ण जिम्मेवारी बाँडफाँट लगायतका बिषयमा मनोमानी भएको भन्दै दुई उपाध्यक्षले बुहमत पु¥याएर पल्लाभारी बनाएको उनीहरु निकटको भनाई छ ।

ज्ञापनपत्रमा चुनावमा पराजित मन्त्रीहरुलाई फिर्ता बोलाएर कम्तीमा पनि तीनजना महिला सहभागी गर्नुपर्ने माग गरिएको छ । वैद्य पक्षले तयार पारेको ज्ञापनपत्रमा भट्टराई पक्षका नेताहरुले समेत एक्कासी हस्ताक्षर गर्दा प्रचण्ड पक्षधर नेताहरु झन् सशंकित भएका छन् । ‘मन्त्रिपरिषदमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने भट्टराईको माग नै थिएन’ प्रचण्ड पक्षीय नेता हरिबोल गजुरेलले भन्नुभयो– ‘अध्यक्ष विरुद्ध दुई उपाध्यक्षले मोर्चाबन्दी गरेका छन् । यो विचित्रको कुरा छ । यसले झन् पार्टीलाई कमजोर बनाउँछ ।’

तर, भट्टराई पक्षधर नेता राम कार्की यो कुरा मान्न तयार हुनुहुन्न । ‘समानुपातिक हुनुपर्छ भन्ने पार्टीको नै नीति हो’ कार्कीले भन्नुभयो– ‘हामीले पनि पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौं ।’ स्थायीरुपमा तीनवटा पार्टीभित्र बिभक्त भएको माओवादीमा फेरी दुई ध्रुव एकतिर भएका छन निश्चीत कार्यक्रमका लागि । ‘दायाँ बायाँ गर्यौं भने बहुमतका आधारमा संसदीय दलको नेतासमेत फेर्न सक्छौं भन्ने स्पष्ट सन्देश हो’– बैद्य पक्षका एक नेताले भने ।

प्रचण्ड गृहकार्यमा व्यस्त

पार्टी भित्रको अन्तरसंघर्ष थामथुम पार्न माओवादी अध्यक्ष प्रचण्ड सब काम छाडेर लाग्नुभएको छ । शुक्रबारको बैठकमा प्रचण्डले भन्नुभएको थियो– ‘तीन दिनभित्र गृहकार्य गरी केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय हुने प्रस्ताव ल्याईनेछ ।’ नयाँ बजार स्रोतका अनुसार प्रचण्ड अहिले यही प्रस्तावको खोजीमा हुनुहुन्छ । शनिबार बिहानैदेखि उहाँले आफ्ना निकट नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको छ । यसबीचमा उहाँले वैद्य र भट्टराईसहित उनी पक्षीय नेताहरुसँग पनि छलफल गर्नुहुने नयाँ बजार स्रोतको भनाई छ ।

पार्टी भित्रको विवाद अन्त्य गर्न जतिसुकै लचक भएपनि मन्त्रिपरिषदलाई समावेशी बनाउने विषयमा भने प्रचण्डलाई अफ्ठेरो परेको छ । वैद्य र भट्टराई पक्षले अहिलेका सबैलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने माग गरेको छ भने प्रचण्ड पक्षले यसलाई अनावश्यक बहस भनेको छ । ‘एक दुईजनालाई फिर्ता बोलायो भने झन् समस्या निम्तिन्छ’ भट्टराई निकट नेता कार्कीले भन्नुभयो– ‘सबैलाई बोलाएर नयाँ पठाउनुपर्छ ।’ तर समावेशीको नाममा विवाद बल्झाउन नहुने प्रचण्ड निकट नेता हरिबोल गजुरेलको भनाई छ । ‘तैपनि अध्यक्ष काम्रेड पार्टीलाई एकताबद्ध रुपमा लैजाने उपायको खोजीमा हुनुहुन्छ’ गजुरेलले भन्नुभयो –‘गुटबन्दी रोकेर विश्वासको वातावरण बनाउने काममा अरु पक्षको भूमिका कस्तो हुन्छ भन्ने महत्वपूर्ण कुरा हो ।’

भदौ १४ सम्म यही सरकार रहने पक्कापक्की जस्तै भएपछि माओवादीभित्र ३३ प्रतिशत मलिा पुर्याएर मन्त्रीहरु फेर्ने गृहकार्य सुरु भएको हो । यसमध्ये प्रचण्ड पक्षका केही मन्त्री फिर्ता हुनसक्ने बताइएको छ । यस्तै पम्फा भुसाललाई कुनै राम्रो मन्त्रालय दिएर लैजाने तयारीसमेत भइरहेको बताइएको छ । तत्कालका लागि सरकारमा सहभागिताको समस्यालाई हल गर्ने र दीर्धकालिनरुपमा महाधिवेशनको मिति तोकेर बिबाद हल गर्ने तयारीमा तीनै नेता लागेको बताइएको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment