मधेसी मोर्चाको अवरोधले बजेट ल्याउने सरकारको तयारी असफल/संसद बैठक भोलीसम्मका लागि स्थगित

14/07/2011 10:39

 

३० असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधपछि बजेट ल्याउन सरकार असफल भएको छ । सरकारले आफ्ना माग बजेटमा सम्बोधन नगरेको भन्दै मधेसी मोर्चाले विरोध जनाएपछि बजेट ल्याउने सरकारको तयारी असफल भएको हो ।

सरकारले आज व्यवस्थापिका संसदमा झण्डै चार खर्ब रुपैयाँ बराबरको बजेट पेश गर्ने तय भएको थियो । तर मोर्चामा आबद्ध मधेसवादी दलहरुले आफ्ना माग सम्बोधन नगरे संसद बैठकमा अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ । संसद बैठक भोली दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

त्यसबीचमा मोर्चाका मागमा सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेता र सरकारसँग छलफल गरिने छ ।

मोर्चाका मागबारे प्रधानमन्त्री झलनाथ खनाल र अर्थमन्त्री भरतमोहन अधिकारीसँग आज भएको छलफल निष्कर्षविहीन भएको थियो । छलफलका कारण अपरान्ह चार बजे बोलाइएको संसद बैठक झण्डै साढे एक घण्टा पछि सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको थियो ।

यसअघि आजै बसेको मन्त्रिपरिषद बैठक र राष्ट्रिय योजना आयोगबाट बजेट अनुमोदन गरिएको थियो । आयोगका उपाध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटाले बजेटमा ठूला योजनालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँले द्वन्द प्रभावित क्षेत्र र विपन्न वर्गका लागि बजेटमा विशेष कार्यक्रम राखिएको जानकारी पनि दिनुभयो । योजना आयोगले तीन बर्षिय योजनालाई पनि स्वीकृत गरेको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment